२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीले गरे पूजा


0
Shares

मुस्ताङ, वैशाख २९ । दुई दिने नेपाल भ्रमणमा भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको पूजा आराधना गरेका छन् ।

शनिबार बिहान हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुस्ताङको मुक्तिनाथ आएका मोदीले करीब आधाघन्टा पूजा गरे । त्यसक्रममा उनले मुक्तिनाथमा रहेको १०८ धाराको पानी शीरमा सेचन पनि गरे ।

उनले पर्यटकीय क्षेत्रको रुचिपूर्वक अवलोकनसमेत गरे ।

मुक्तिनाथ मन्दिर नजिक बनाइएको हेलिप्याडमा अवतरण गरेका उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।

संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले मोदीलाई स्वागत गरेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार पूजा सकाएपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिने कार्यक्रम छ ।

चीनसँगको सीमावर्ती मुक्तिनाथमा मोदी भ्रमणकै कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले हिजो बेलुका ४ बजेदेखि नै नफर्किउन्जेलसम्म मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

पर्यटकलाई पनि पुराङ र रानीपौवा बजारमा प्रवेश निषेध गरिएको छ । सुरक्षा प्रवन्ध मिलाउन बिहीबारदेखि नै भारतीय सुरक्षाकर्मीको विशेष टोली मुक्तिनाथमा परिचालित गरिएको हो ।

त्यहाँ उनलाई अभिनन्दन गरिने कार्यक्रम पनि छ ।