१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना


0
Shares

पोखरा, वैशाख २९ । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि शनिबार बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ ।

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सभामुख अधिकारीको टाउकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने, ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते भएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो । (रासस)