जनकपुरमा नरेन्द्र मोदीका रोचक चार घण्टा(हेर्नुहोस भिडियो) • Image Khabar Image Khabar


जनकपुरमा नरेन्द्र मोदीका रोचक चार घण्टा(हेर्नुहोस भिडियो)


Imagekhabar
२९ बैशाख २०७५, शनिबार १७:३२

जनकपुरमा नरेन्द्र मोदीका रोचक चार घण्टा(हेर्नुहोस भिडियो)

-अक्कल कुँवर, नवीन सिंह र नवीन स्थापित(ईमेज):

जनकपुर, बैशाख २९ । दुई दिने नेपालको राजकीय भ्रमणमा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको सुरुवात जनकपुरबाट गरे ।

जनकपुरमा दुई घण्टाको कार्यक्रम तय गरिएको भएपनि मोदीले झण्डै चार घण्टा बिताए । जनकपुर बसाईको क्रममा प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा विशेष पूजादेखि दुई छुट्टाछुट्टै सम्बोधन समेत गरे ।

शुक्रबार विहान करिब सवा १० बजे विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एअरपोर्टबाट सिधै जानकी मन्दिर पुगे ।

जानकी मन्दिरको मुख्य ढोकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता सुरुवाल र गम्छा पहिरेर आधा घण्टा अगाडीदेखि नै कुरेर बसेका थिए ।

निकै हँसिलो मुद्रामा जानकी मन्दिर प्रवेश गरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री ओलीले जानकी मन्दिरको मुल ढोकामा स्वागत गरे ।

दुबै प्रधानमन्त्री सँगसँगै मन्दिरभित्र प्रवेश गरे भने मोदीले करिब २५ मिनेट विशेष पुजा गरे । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले प्रधानमन्त्री मोदीलाई प्रसाद र उपहार प्रदान गरे ।

जानकी मन्दिरमा पुजा गरिसकेपछि मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । त्यसपछि दुबै देशका प्रधानमन्त्रीले मन्दिर परिसरमै सम्बोधन गरे ।

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले जनकपुर आउन पाएकोमा खुशी व्यक्त गर्दै आफूलाई स्वागत गर्न प्रधानमन्त्री ओली नै आउनु भएकामा आभार व्यक्त गरे ।

दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा मन्दिर परिसरबाटै जनकपुर–अयोध्या बससेवा संचालन र रामायण परिपथको उद्घाटन गरे । उक्त बस चार जना नेपाली सरकारी अधिकारीसहित ३४ जना यात्रु बोकेर अयोध्या पुगेको छ ।

जानकी मन्दिरबाट बाह्रबिघा पुग्दा सडक दायाँबायाँ रहेका सर्वसाधारणले भारतीय प्रधानमन्त्री मोदीको जयजयकार गरे ।

बाह्रविघा मैदानमा आयोजित समारोहमा जानकी मन्दिरको तस्वीर प्रदान गर्दै प्रदेश सरकारले प्रधानमन्त्री मोदीको स्वागत गर्‍यो भने प्रदेश सरकार, जनकपुर उप–महानगरपालिका र जनकपुर उद्योग बाणिज्य संघले छुट्टाछुट्टै १ सय २१ किलोको माला पहिर्‍याए ।

बाह्रविघामा प्रशस्तीपूर्ण अभिनन्दन ग्रहण गरेपछि मोदीले करिब १ घण्टा लामो सम्बोधन गरे ।

मोदीले आफु प्रधानमन्त्रीभन्दा प्रधान तीर्थयात्रीका रुपमा नेपाल आएको भन्दै कहिले मैथली त कहिले नेपालीसमेतमा थोरै बोलेर खचाखच भरिएको रंगभूमि मैदानका सहभागिलाई हौस्याए ।

प्रधानमन्त्री मोदीले जनकपुर क्षेत्रको विकासका लागि १ अर्ब रुपैया सहयोग गर्ने घोषणा गर्दै केन्द्र र प्रदेश सरकारले छनौट गरेका परियोजनामा खर्च गरिने भन्न पनि भ्याए ।

अघिपछि निकै फोहोरी शहरको उपमा पाउने जनकपुर नगरीले मोदी भ्रमणकै कारण केही सफा हुने मौका पनि पाएको देखियो ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्