
काठमाडौं, बैशाख ३० । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुंदैछ ।
ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् ।
भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको छ ।
रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।
मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ ।
जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ ।
मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पु¥याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।
बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्