बझाङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु • Image Khabar Image Khabar


बझाङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु


Imagekhabar
३० बैशाख २०७५, आईतवार १९:२७

बझाङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

डीबी विष्ट/
बझाङ, वैशाख ३० । बझाङमा आइतबारदेखि औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम बझाङमा पनि शुरु भएको हो । राष्ट्रिय बीमा नीति २०७१ ले कार्यक्रम, दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि लागू भएको हो ।

यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने स्वास्थ्य बीमा प्रबन्धक नरेश कुमार चौधरीले बताए ।

गरिब, पिछडिएका अतिविपन्न, महिला, दलित, जनजातिले यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ । स्वास्थ्य सेवाका क्षेत्रमा जोखिम न्युनीकरणको व्यवस्था गरी सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षताका साथै जवाफदेहीतामा सुधार ल्याउने स्वास्थ्य बीमाका प्रदेश नम्बर ७ का संयोजक जनकबहादुर साँउले बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. अनुप रेग्मीको अध्यक्षता र समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको प्रमुख आथित्यमा कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक खड्काले यो कार्यक्रमले गरीब र पिछडिएका अति विपन्न वर्गहरुलाई ठूलो राहत पुग्ने बताए ।

डा. रेग्मीले कार्यक्रम सफल पार्न सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्