
काठमाडौं उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिनेछ ।
राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनओटै जिल्लाका सहरमा सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।
मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनओटै तहलाई अधिकार सम्पन्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए ।
देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन् ।
यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भाव्यता अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो ।
हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौंडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन् ।
विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करिब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ ।
सर्वसम्मत् भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुईतिहाइ बहुमतबाट निर्णय लिइनेछ । रासस
प्रतिक्रिया दिनुहोस्