२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


त्रिविले तोकेभन्दा बढी शुल्क लिँदै मेडिकल कलेजहरु, यसो भन्छन् विद्यार्थी (भिडियो)


0
Shares

त्रिविले पीजी तह पढ्न २२ लाख रुपैयाँ तोकेकोमा मेडिकल कलेजहरुले ३१ लाख रुपैयाँसम्म लिन थालेपछि उनीहरुले विरोध गरेका हुन् ।

चितवन मेडिकल कलेज, पोखराको गन्डकी, वीरगन्जको नेसनल, भैरहवाको युनिभर्सल मेडिकल कजेल र काठमाडौंको पिपुल्स डेन्टल मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।

सरकारले ‘पोस्ट ग्राजुएट’ तहमा सबै मेडिकल कलेजहरुले २२ लाखमा नै पढाउनुपर्ने नियम बनाएको भएपनि कलेजहरुले त्यसको पालना नगरेको उनीहरुको गुनासो छ ।

भर्ना, परीक्षा, होस्टेल, पुस्तकालय, एड्भान्स प्रमोसन र ट्रेनिङलगायतका विभिन्न बहानामा कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।

सुरुमा तीन वर्षीय पीजी तह २२ लाखमा पढाइदिने भनेपछि भर्ना भएका विद्यार्थीलाई हाल कलेजले मनोमानी ढंगमा शुल्क थप्दै जाँदा उनीहरु मर्कामा परेका छन् ।

पोखराको गन्डकी मेडिकल कलेजका विद्यार्थीहरुले कलेजले आफूहरुलाई ३० लाख घटीमा पढाउन नसक्ने जनाएपछि भर्ना मिति नजिकिँदै गर्दा अब पढ्न पाइन्छ कि पाँइदैन भन्ने अन्योल भएको बताए ।

चितवन मेडिकल कलेजले पीजी पढ्न सरकारले तोकेको रकम बुझाइसकेका विद्यार्थीहरुलाई २२ लाखमा पढाउन नसक्ने भन्दै प्रत्येक वर्ष ३ लाखको दरले रकम बढ्ने बताएको छ ।

हामीलाई प्राप्त विद्यार्थी र कलेज प्रशासनसँग भएको टेलिफोन वार्तामासमेत त्यही कुरा प्रस्ट झल्किन्छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले मेडिकल कलेजहरुले सरकारी नियम मान्दिनँ भन्न नपाउने भन्दै तोकेको रकममा पढाउन नसके कार्यक्रम नै बन्द हुने बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि पढ्न सकून् भनेर सरकारले शुल्कमा सीमा लगाएको हो ।

तर, मेडिकल कलेजहरुले मनोमानी ढंगले अवैधरुपमा पैसा असुल्दा पनि सरकारले कुनै कारबाही गर्न सकेको छैन ।

भिडियो हेर्नुहोस्