२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो


0
Shares

                                              प्रतीकात्मक तस्वीर

पाँचथर, जेठ १ । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ ।

प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका नागरिकलाई गाउँपालिकाको पहिलो गाउँसभाबाटै पानी खुवाउनका लागि उद्घोष गर्‍यो, फलस्वरुप कार्यालयले ढिलै भए पनि खानेपानी वितरण गर्न थालेको छ ।

सुलभ मूल्यमा पानी वितरण गर्ने उद्देश्यअनुरुप ट्यांकर खरिद प्रक्रिया पूरा गरी गाउँपालिकाले पानी वितरण गर्न थालेको हो ।

खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खानेपानीको पहुँचमा पुर्‍याउनका लागि यो अभियानलाई तीव्रता दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कूल रु ४५ लाखको लागतमा टयाङ्कर खरिद गरेको हो । खानेपानीको गम्भीर समस्या भएका वडाको पहिचान गरी सामूहिकरुपले उक्त क्षेत्रमा खानेपानी वितरण गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

स्थानीयले प्रतिलिटर डेढ देखि दुई रुपैयाँसम्मको दरले पानी किनेर खानुपर्ने बाध्यता थियो । तर अहिले परिवारका आवश्यकता र होटल व्यवसाय गर्न सहज भएको अध्यक्ष चेम्जोङले बताए ।

खानेपानीको समस्या भएको कुम्मायक गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार छ । मेलम्चीपछि कै दोस्रो ठूलो आयोजना भनिएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्मका लागि स्थानीयलाई राहत दिन गाउँपालिकाले प्रतिलिटर ६० पैसामा पानी वितरण गर्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीय होटल व्यवसायी देवेन्द्रकुमार सम्बाहाम्फे भन्छन्, ‘खानेपानी किनेर मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो सस्तो रेटमा गाउँपालिकाले खानेपानी उपलब्ध गराएको छ ।’

‘राम्रो काम गरेकोलाई राम्रो भन्नुपर्छ, खानेपानी वितरणको सेवा अहिले बजारमा मात्रै केन्द्रित भएको छ, त्यसलाई गाउँमा पनि केन्द्रित गर्नुपर्छ,’ उनले भने ।

गाउँपालिकाको यासोक बजारमा मात्रै दैनिक ५० देखि ६० हजार लिटर पानी खपत हुने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्न नसकेको उक्त खानेपानी आयोजनाले दैनिक २० हजार देखि २५ हजार लिटर पानी पनि पुर्‍याउनसमेत हम्मेहम्मे हुने गरेको यासोक खानेपानी सरसफाइ उपभोक्ता समिति अध्यक्ष तथा वडा नं १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । (रासस)