कक्षा–११ र १२ मा नेपाली विषयको पूर्णांक घटाउने तयारीप्रति आपत्ति (भिडियो) • Image Khabar Image Khabar


कक्षा–११ र १२ मा नेपाली विषयको पूर्णांक घटाउने तयारीप्रति आपत्ति (भिडियो)


Imagekhabar
१ जेष्ठ २०७५, मंगलवार २०:०९

कक्षा–११ र १२ मा नेपाली विषयको पूर्णांक घटाउने तयारीप्रति आपत्ति (भिडियो)

‘नेपाली विषय बचाऊ अभियान’को नाममा दबाबमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले विदेशी दाताको प्रभावमा परेर नेपाली भाषामाथि प्रहार गर्न खोजिएको दावीसमेत गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरुले पाठ्यक्रम विकास केन्द्रले हालै सार्वजनिक गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ को मस्यौदा तत्काल सच्चाउन आग्रह गरेका छन् ।

यसै विषयमा सरकारको ध्यानाकर्षण गराउन नेपाली विषय बचाऊ अभियानसमेत गठन गरेका विज्ञ र विद्यार्थीहरुले शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिवि नेपाली विभागलगायतका सरोकारवाला निकायहरुलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

कार्यक्रममा नेपाली शिक्षाशास्त्र केन्द्रीय शाखा, कीर्तिपुरका प्रा. डा. पारसमणि भण्डारीले युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय दाताहरुको प्रभावमा परेर पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाए ।

कुनैपनि राष्ट्रको पहिचान त्यसको भाषा र संस्कृति हुने भन्दै विद्यालयस्तरबाटै भाषाको जर्गेना हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, प्राध्यापक उमेश काफ्लेले ‘नेपाली विषयमाथिको प्रहार नेपालको राष्ट्रियतासँग सोझै जोडिएको छ’–भने ।

त्रिचन्द्र कलेजका प्रा. डा. गंगाधर अधिकारीले कक्षा–११ र १२ मा १०० पूर्णांकको अनिवार्य नेपालीका साथै ऐच्छिक विषयमा पनि नेपाली राखेमात्रै नेपाली भाषाको विकास हुने बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्