११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


सिद्धार्थ र क्यास्पियन विजयी


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, कात्तिक २७ । धनगढीमा निस्ट लिटल फ्लावर प्रिमियर लिग ट्वेन्टी–२० क्रिकेटको तेस्रो संस्करण मंगलबारदेखि सुरु भएको छ ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदन धनगढीले निस्ट स्कुल काठमाडौंलाई ३ रनको झिनो अन्तरले पराजित गर्‍यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको सिद्धार्थले निर्धारित् १० ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनाएको थियो ।

सिद्धार्थका लागि ओपनर गजेन्द्र बोहराले सर्वाधिक १८, सुरेन्द्र साउदले अविजित १५ र खडक बोहराले १४ रनको योगदान दिए ।

६४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको निस्टले १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो ।

निस्टका लागि शिशिर केसीले सर्वाधिक १९ र कप्तान सोहन यादवले १४ रन जोडे ।

२० ओभरको प्रतियोगिता भएपनि खेल ढिलो सुरु भएकाले १० ओभरकोमात्र खेलाइएको थियो ।

मंगलबारै भएको दोस्रो खेलमा क्यास्पियन एकेडेमी धनगढी विजयी भयो ।

क्यास्पियनले शारदा उच्च मावि धनगढीलाई १४ रनले पराजित गरेको हो ।

क्यास्पियनले दिएको १०२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा मावि १६.३ ओभरमामात्र ८७ रनमै समेटिएको थियो ।

विद्यालयस्तरीय प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता आगामी मंसिर ४ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयीमान खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।