
सुर्खेतबाट बुधबार बिहान ६ बजेर १२ मिनेटमा कार्गो समान लिएर सिमकोटका लागि उडेको ‘नाइन एन एजेयु’ कलसाइन भएको सो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकका वडा नम्बर–२, बामखर्कमा दुर्घटना भएको हो ।
‘एचएफ मेसिन’ले काम नगरेको र ‘ल्यान्डलाइन’ फोनलेसमेत काम नगरेकाले जहाज उडेको जानकारी नै नभएको सिमकोट विमानस्थल प्रमुख गौरीशंकर साहले बताए ।
बुधबार बिहान ८ बजेभन्दाअगाडि एचएफ मेसिनले प्रभावकारी काम नगर्ने भएकाले सन्चारमा त्रुटि देखिएको साहको भनाइ छ ।
सो विमान हराएको थाहा पाएको दुई घन्टामा नै दुर्घटनाग्रस्त अवस्थामा विमान फेलापारेको उनले बताए ।
बुधबार बिहान करिब साढे १० बजेमात्र दुर्घटनाग्रस्त विमान पत्ता लागेको थियो ।
‘तीनओटा विमान नेपालगन्जबाट र एउटा सुर्खेतबाट आएका थिए । तर, कसैले त्यो विमान आइरहेको जानकारी दिएनन् । पछि सुर्खेत विमानस्थलमा सम्पर्क गरेपछिमात्रै मैले विमान हराएको थाहा पाएँ’–उनले भने ।
आफूले विमान हराएको थाहा पाएको १२ मिनेटबाट नै हेलिकोप्टरमार्फत् खोजीकार्य सुरु गरेको उनले बताए ।
सो कार्गो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन ।
हुस्सु लागेको अवस्थामा सिमकोट जाँदै गरेको विमान फिर्ता भएर तीन/चारपटक आकाशमा घुमेपछि एकलाभुजको चौरमा अवतरण गर्न खोज्दा दुर्घटना भएको बाजुराबाट भेडा ल्याएर हुम्ला आउँदै गरेका स्थानीय लामा रावलको भनाइ छ ।
विमान ठोक्किएर दुर्घटना भएको दुर्घटनास्थलबाट भेडागोठाला लामा रावलले जानकारी गराएपछिमात्र दुर्घटनाबारे थाहा भएको थियो ।
सिमकोटनजिक आएपछि विमानले विमानस्थलमा सम्पर्क गर्नुपर्ने भएपनि सम्पर्क नगरेको विमानस्थल प्रमुख साहले बताए ।
दुर्घटनाग्रस्त विमानले सम्पर्क नगरेको र सुर्खेत विमानस्थलमा सम्पर्क हुन नसकेका कारण विमान उडेको सिमकोट विमानस्थललाई खबर नभएकाले विमानबारे थाहा नभएको बताइएको छ ।
सिमकोट विमानस्थलबाट १०.७ नटिकल माइलको दूरीमा सो विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
१२ हजार ८०० फिटमा उडेको विमान प्रतिकूल मौसमका कारण डाँडामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
विमानका क्याप्टेन किरण भट्राई र को–पाइलट आदित्यनाथ नेपालीको घटनास्थलमा नै मुत्यु भएको थियो । उनीहरुका शव क्षत–विक्षत अवस्थामा भेटिएका थिए ।
विमान १२ हजार ८०० फिट उचाइको पहाडमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
कार्गो भएकाले विमानमा चालकदलका दुईजना सदस्यमात्र थिए । विमान ११ सय ७० किलो सामान बोकेर उडेको थियो ।
प्रतिक्रिया दिनुहोस्