२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्थानीय तहका जनप्रतिनिधिले महसुस हुनेगरी काम गर्न सकेनन् (भिडियो)


0
Shares

चुनावभन्दा पहिलेका प्रतिबद्धता र आश्वासनअनुसारका काम नदेख्दा जनताले गुनासो पोख्न सुरु गरेका छन् ।

एक वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा संखुवासभाका गाउँपालिका र नगरपालिकाका जनतामा निकै ठूलो उत्साह देखिन्थ्यो ।

अधिकार सम्पन्न स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासले एकाएक बाटो समात्ला र त्यसको अनुभूति छिटै नै गर्न पाइएला भनी हौसिएका जनताले चुनावमा उत्साहजनक सहभागिता जनाए ।

त्यसो त चुनावमा होमिएका उम्मेदवारले पनि सकेसम्म विकास र समृद्धिका आश्वासन र प्रतिबद्धता पनि बाँडे ।

प्रतिबद्धता बाँड्ने पुरानै संस्कारबाट आजित भएका जनताले सबै प्रतिबद्धता र आश्वासन त पत्याएनन् तर पनि एकखालको आशा भने थियो नै ।

यतिबेला अहिले चुनावअघि स्थानीय तहमा जनप्रतिनिधि आगमन भएको एक वर्ष बितिसक्यो ।

संघीय संरचनासँगै गाउँगाउँमा सहज सेवा, रोजगारी, विकास निर्माणका कामले फड्को मार्ने आशामा रहेका जनता अहिले निराश बन्न थालेका छन् ।

निर्वाचनको समयमा विकासे नाराले ढुक्क बनाएका जनप्रतिनिधिले आश्वासनमात्र दिएको खाँदबारी–१ का स्थानीय डाक्टरप्रसाद पराजुली बताउँछन् ।

एक वर्षमा धेरै काम हुन नसकेपनि नागरिकलाई प्रत्यक्ष राहत पुग्ने किसिमका तत्काल गर्नसकिने काम पनि भएका छैनन् ।

जनप्रतिनिधि आइसकेपछि विकासको ओइरो लाग्छ भनेको सुनेपनि पहिले र अहिलेमा खासै फरक नपरेको स्थानीयवासी गणेशप्रसाद राईको गुनासो छ ।

त्यसो त जनप्रतिनिधिहरुले पनि आफूले सोचेअनुसारको प्रगति गर्न नसकेको स्वीकारेका छन् ।

खाँदबारी गाउँपालिकाका वडा नम्बर–९ का वडाध्यक्ष टिकाराम कुमालले वडासम्म सेवा विस्तार गर्न नसकिएपनि वडावासीको सेवा र विकासमा रातदिन खटेको बताए ।

नगरको विकासका लागि गुरुयोजना नभएका कारण विकास निर्माणमा अन्योल भएको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको भनाइ छ ।

भिडियो हेर्नुहोस्