
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठकसमेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा स्थगित गरेको थियो ।
बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात् स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्काे बैठककाबारेमा केही निर्णय पनि भएको छैन ।
सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ ।
दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर, सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।
दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचारपछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।
सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति–सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ ।
उता, उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच बुधबार बैठक हुने भनिएको थियो । तर, सो बैठक उत्तर कोरियाका कारण हुन सकेको छैन ।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक वार्ता र शान्ति–सम्झौता भएको थियो ।
उत्तर कोरियाले अप्रिल २७ को शान्ति–सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आफूले आणविक शस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ ।
उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने सो वार्ता गर्न दबाब दिने र उत्तरसँगको वार्तालाई कायमै राख्ने जनाएको छ ।
सैन्य अभ्यासको विषयलाई लिएर अमेरिकाको भने कुनै प्रतिक्रिया आएको छैन । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्