कम्युनिष्ट एकता कांग्रेसका लागि ठूलो अवसर, के भन्छन् नेताहरु ? (भिडियो) • Image Khabar Image Khabar


कम्युनिष्ट एकता कांग्रेसका लागि ठूलो अवसर, के भन्छन् नेताहरु ? (भिडियो)


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार १२:०३

कम्युनिष्ट एकता कांग्रेसका लागि ठूलो अवसर, के भन्छन् नेताहरु ? (भिडियो)

शंकर खनाल/भरत केसी(ईमेज):
काठमाडौं, जेठ ५ । दुई वटा कम्युनिष्ट पार्टीको एकतासँगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो एकतालाई स्वाभाविक मानेको छ ।

टुट र फुटको राजनीतिमा खप्पिस नेपालको कम्युनिष्ट राजनीति यतिबेला जुटमा केन्द्रित हुँदा धेरैलाई आश्चर्य पारेको छ ।

टुट्नु र फुट्नु कम्युनिष्ट पार्टीको पुरानो रोग भए पनि लामो समयपछि रोगको उपचार भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि यसको जसअपजस सबै दुई पार्टीका शीर्ष नेतृत्वले लिएका छन् ।

भलै नेपाली राजनीतिको मुख्य मियोको रुपमा घुमेको नेपाली काँग्रेसले पनि बाम एकताको घुमाउरो पारामा स्वागत नै गरेको छ ।

तर, कम्युनिष्ट पार्टीको एकतासँगै नेताहरुमा दम्भ दम्भित भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले एकता के का लागि भन्दै आशंका गरेको छ ।

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कम्युनिष्ट एकताले नेपाली कांग्रेसलाई कुनै प्रभाव नपर्ने टिप्पणी गरे ।

उनले कांग्रेस सत्तामुखी हैन सिद्धान्त र आदर्शमुखी भएकाले कांग्रेसको चरित्र र सिद्धान्तमा कम्युनिष्टहरुलाई ल्याउन सक्नु पनि कांग्रेस र देशको हितमा भएको बताए ।

२००६ सालमा स्थापना भएर २०१९ सालदेखि टुटको राजनीतिमा रुमलिएको कम्युनिष्ट पार्टी अहिले आएर एकताको डोरीमा बाँधिनुको अर्थ नभएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको टिप्पणी छ ।

नेपाली कांग्रेसको आफ्नै इतिहास र प्रष्ट गन्तव्य भएकाले कसैले कांग्रेसप्रति टिप्पणी गर्नु अर्थहीन भएको उनको भनाई छ ।

त्यसो त सधै सत्ता केन्द्रीत राजनीतिमा चक्करीत नेपाली कांग्रेसले कम्युष्टिहरुको एकतासँगै कम्तिमा पाँच वर्षका लागि सत्ताबाहिर बस्नुपरेको छ ।

भलै कांग्रेसले पाँच बर्षको समयलाई जनतामाझ पुग्ने अवसर ठानेको छ । दुईवटा पार्टी मिल्नु आफ्ना लागि चुनौतिभन्दा अवसर भएको कांग्रेसको ठम्याई छ ।

दुई वटा पार्टी मिलेर विशाल कम्युनिस्ट पार्टी गठन भएपछि कतिपयले कांग्रेसले धेरै समयसम्मका लागि सत्ताबाहिरै बस्नुपर्ने टिप्पणी गर्न थालेका छन् ।

तर, कांग्रेसका नेताहरु पाँच वर्षपछि नै मुलुककै ठूलो पार्टी कांग्रेस नै बन्ने दाबी गर्दै आएका छन् । उनीहरुले वामपन्थी एकतालाई ‘निम्भ लागेको बत्ती’को संज्ञासमेत दिने गरेका छन् ।

कम्युनिष्ट मिलनमा सबैका आ–आफ्नै तर्क भए पनि यसले नेपाली राजनीतिमा नयाँ प्रभाव चाहिँ पार्ने नै छ । साना हुन् या ठूला सबै राजनीतिक दलका लागि वाम एकता चुनौतीपूर्ण बनेको छ ।

ठूलो कम्युनिस्ट पार्टीलाई राम्रो काम गरेर जनतामा एकताको प्रष्ट छाप छोड्नुपर्ने बाध्यता छ भने अरु दललाई पनि जनताको मन जित्न नयाँ ढंगले काम गर्नुपर्ने चुनौती देखिएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्