सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता « Imagekhabar – Online News Portal of Nepal


सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता


0
Shares

सोलुखुम्बु, जेठ ६ । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई गरिंदिंदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको काम सबैतर्फबाट सुरु गर्न आयोजना, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिए ।

प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधानमा आफुले पहल गर्ने भन्दै उनले ठेकेदारलाई साइटमा काम गर्न निर्देशन दिए ।

निर्माण प्रगतिको नियमित अनुगमन हुने भन्दै उनले समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनु पर्ने बताए ।