१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा (भिडियो)


0
Shares

ध्रुवसागर शर्मा/ईमेज:
म्याग्दी, जेठ ७ । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा छायामा परेको छ ।

विश्वका पवित्र १५ तीर्थस्थलममध्येको एक भए पनि यसको महत्वबोध गराउन नसक्दा यो ठाउँ ओझेलमा परेको हो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका ५ मा रहेको पुलस्त्य आश्रमको व्यापक धार्मिक महत्व छ । श्रीमद्भागवत महापुराणमा समेत वर्णित पुलस्त्य आश्रमलाई रावणको जन्मस्थलको रुपले पनि चिनिन्छ ।

तर धेरैको जानकारीमा नरहेको यो आश्रम पूर्वाधार, र संरक्षणको अभावमा गुमनाम जस्तै बन्न पुगेको छ ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको चौधौँ अध्यायको दण्ड भागमा उल्लेख भएअनुसार विश्वका अति पवित्र १५ तीर्थस्थलमध्येमा यो आश्रम पर्र्दछ ।

यति धेरै धार्मिक आस्था र महत्व बोकेको भूमि ओझेलमा पर्नु आफैँमा दुखद् छ । नेपालबाट कैयौँ मानिसहरु पवित्र तीर्थभूमिको दर्शन गर्न विभिन्न मुलुकमा खोजी खोजी जाने गरेका छन् ।

तर ऐतिहासिक र धार्मिक महत्व भइकन पनि पुलस्त्य आश्रममा धेरैको नजर पुग्न सकेको छैन । यस स्थानले नत आन्तरिक पर्यटक आकर्षित गर्न सकेको छ न त बाह्य नै ।

उचित प्रचार प्रसार र संरक्षण सम्वर्धन गरे यस स्थानले धार्मिक पर्यटकलाई आकर्षित गर्न सक्नेमा कुनै शंका छैन ।

श्रीमद्भागवतपुराणका अनुसार पुलह ऋषिका नाति विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको पुजारी दण्डपाणी पौडेलले बताउँछन् ।

रावणको जन्मभूमि मात्र नभई हुर्केर बढेको ठाउँ पनि पुलस्त्य आश्रममै भएको पुराणमा उल्लेख छ ।

रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको स्थानीय बुद्धिजीवी रणवहादुर बानियाँको भनाइ छ ।

यसरी धार्मिक र ऐतिहासिक महत्वको पवित्र भूमि ओझेलमा पर्दा यस ठाउँको प्रचारप्रसार हुन सकेको छैन ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचार प्रसार र भौतिक पूर्वाधारको विकास गरे पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ ।

भिडियो