भेनेजुयलामा सम्पन्न विवादास्पद चुनावमा राष्ट्रपति मडुरो पुनः निर्वाचित • Image Khabar Image Khabar


भेनेजुयलामा सम्पन्न विवादास्पद चुनावमा राष्ट्रपति मडुरो पुनः निर्वाचित


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १३:१९

भेनेजुयलामा सम्पन्न विवादास्पद चुनावमा राष्ट्रपति मडुरो पुनः निर्वाचित

काठमाडौं, जेठ ७ । ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले विवादास्पद चुनावमा विजय हासिल गरेका छन् ।

दोस्रो चरणको चुनावबाट उहाँ छ वर्षको लागि पुनः निर्वाचित हुनु भएको हो । तर चुनावमा धाँधलीको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिष्कार गरेका थिए ।

मुख्य विपक्षी उम्मेदवार हेन्री फाल्कनले मतदान सकिएलगत्तै नतिजा अस्वीकार गर्ने जनाएका थिए ।

सरकारी अधिकारीहरुले भने चुनाव निष्पक्ष र धाँधलीरहित भएको दाबी गरेका छन् ।

खाद्यान्न संकट र गहिरिँदो आर्थिक दूरावस्थाकाबीच सम्पन्न चुनावमा ४६ प्रतिशत मात्र मत खसेको थियो । मडुरोको आलोचक रहेको अमेरिकाले चुनावी नतिजालाई मान्यता नदिने जनाएको छ ।

भेनेजुयलामा अमेरिकी नाकाबन्दी र राजनीतिक अस्तव्यस्थाले कारण गहिरिएको आर्थिक संकटले मुद्रास्फीति दर सयौं प्रतिशत बढेको छ । मुलुकको मुद्रा बोलिभर लगभग मूल्यहीन भएको छ ।

विकट भागका ७० प्रतिशत बालबालिका कुपोषणको शिकार भएको बताइन्छ ।

जिवनयापनमा कठिनाई भएपछि हजारौं भेनेजुयलाली नागरिक छिमेकी कोलम्बिया वा ब्राजिल जान थालेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्