पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु, गाउँ शोकमा • Image Khabar Image Khabar


पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु, गाउँ शोकमा


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १४:३०

पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु, गाउँ शोकमा

सोमबार दिनको साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नम्बर–११ का अध्यक्ष अकरामद्धिन खाँनले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेको थियो ।

उक्त पोखरी प्राकृतिक पोखरीकारुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अरु समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ ।

मृतक बालिकाहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक बालिकामध्ये दुईजना दाजुभाइका छोरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्