
काठमाडौं, जेठ ८ । इरानका विदेशमन्त्री जोवेद जारिफले आफ्नो मुलुक विरुद्ध इतिहास कै कडा प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको निन्दा गरेका छन् ।
अमेरिका आफ्ना असफल नीतिको दास भएको भन्दै इरानी विदेशमन्त्रीले यसको परिणाम भोग्नु पर्ने चेतावनी दिए ।
यूरोपियन यूनियनका विदेश नीति प्रमुख फेडेरिक मोघिरिनीले पनि अमेरिकी कदमको आलोचना गर्दै सन् २०१५ को आणविक सम्झौताबाट अलग्गिंदा मध्यपूर्व कसरी सुरक्षित हुन्छ भन्ने पुष्टि गर्न अमेरिकी विदेशमन्त्री विफल भएको बताए ।
इरानले आफ्नो प्रतिबद्धताप्रति कटिबद्ध गरे ईयू सम्झौता प्रति प्रतिबद्ध रहने उनले स्पष्ट पारे ।
अमेरिकी विदेशमन्त्री माइक पोन्पेओले सन् २०१५ को सम्झौता पछि फुकुवा गरेको प्रतिबन्ध फेरि लगाइने भन्दै प्रतिबन्धका थप प्रावधानले इरानी शासक विरुद्ध अभूतपूर्व वित्तीय दबाब दिने बताएका थिए ।
अमेरिकी विदेशमन्त्री पोम्पेआले नयां सम्झौताका लागि इरानले सिरियाबाट आफ्नो सेना फिर्ता बोलाउनु पर्ने र यमनमा विद्रोहीलाई समर्थन बन्द गर्नु पर्ने शर्त अघि सारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववर्ती बराक ओबामा प्रशासनले इरानसँग गरेको सम्झौतालाई खराब सम्झौता भन्दै त्यसबाट अलग भएको घोषणा गरिसकेका छन् ।
अमेरिकी कदमको सम्झौताका अरु हस्ताक्षरकर्ता बेलायत, फ्रान्स, जर्मनीले आलोचना गरेका छन् ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्