२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ता केही ढिलाई हुनसक्छः ट्रम्प


0
Shares

काठमाडौं, जेठ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताएका छन् ।

उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो ।

उत्तर कोरियाले निश्चित सर्तहरु पूरा नगरे उक्त शिखर बैठक पर सर्ने उनको भनाइ थियो । उहाँले अहिलेको स्थितिमा उत्तर कोरियासँग वार्ता हुन नसके त्यसपछि कहिल्यै हुन नसक्ने पनि बताए ।

वार्ताका लागि अमेरिकाले उत्तर कोरियासँग परमाणु हतियार नष्ट गर्न लगातार दबाब दिँदै आएको छ ।

अघिल्लो हप्ता उत्तर कोरियाले अमेरिकाले परमाणु हतियारको विषयलाई लिएर एकतर्फी दबाब दिइरहे वार्ता रद्द पनि हुनसक्ने बताएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने तय भएको छ ।

गत अप्रिलमा किम र मूनबीच भएको छलफलपछि यो बैठक तय भएको थियो । उत्तर कोरियाले राम्रो भावनाका साथ परमाणु परीक्षण स्थल नष्ट गर्न चाहे पनि खराव मौसमका कारण यसमा केही ढिलाई भइरहेको छ ।

उत्तर कोरियाले अघिल्लो हप्ता हुने भनिएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता भने रद्द गरिदिएको थियो ।

उत्तर कोरियाले छिमेकी मुलुक र अमेरिकाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि बैठक रद्द गरेको थियो । (एजेन्सी)