२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तर कोरियाले अमेरिकालाई सोध्यो– वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने ?


0
Shares

                          उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुई

प्योङयाङ, जेठ १० । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।

उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुईले उत्तर कोरियाली सरकारी समाचार एजेन्सीमार्फत उक्त प्रश्न गरेकी हुन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फक्स टेलिभिजनमा दिएको अन्तरवार्तामा व्यक्त विचारको पनि कडा आलोचना गरेकी छन् ।

उनले भनिन्, ‘अमेरिकी उपराष्ट्रको मुखबाट निस्किएको बेवकुफी कुरा सुनेर म आफ्नो हैरानी लुकाउन सक्दिनँ ।’

अमेरिकी उपराष्ट्रपति पेन्सले फक्स न्यूजमा दिएको अन्तरवार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई चेतावनी दिदैं आगामी महिना हुने भनिएको शिखर वार्ता अघि कुनै प्रकारको खेल खेलेमा उत्तर कोरिया र उनकै लागि निकै भारी हुने बताएका थिए ।

उपराष्ट्रपति पेन्सले परमाणु कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रियामा उत्तर कोरिया नआएको खण्डमा लिबियाली तानाशाह मोअम्मर गद्दाफीकै हालतमा उत्तर कोरियाली नेता किम पुग्ने पनि चेतावनी दिएका थिए ।

उत्तर कोरियाली उपमन्त्री हुईले त्यस्ता धम्कीबाट आफूहरु नडराउने बताइन् । उनले भनिन्, ‘धम्की दिएको भरमा हामीलाई वार्ताका लागि अमेरिकाले राजी बनाउन सक्दैन ।’

आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको प्रष्ट पार्दै उनले भनिन्, ‘यदि हामीसँग अमेरिका वार्तामा बस्न नचाहने हो भने हामी उसलाई मनाउने कष्ट पनि गर्दैनौं, हामीसँग वार्ता गर्ने कि परमाणु युद्धमा भिड्ने भन्ने कुरा सम्पूर्ण रुपमा अमेरिकामाथि नै निर्भर छ ।’ (एजेन्सी)