
विनोद सिंह विष्ट
बैतडी, कात्तिक २५ । आगो नियन्त्रणका लागि २४ सै घण्टा तम्तयार रहनुपर्ने दमकल नै रित्तो राख्ने गरेपछि आगलागीको सूचना आउनेबित्तिकै पानी भर्न जाने कि आगो निभाउन ? आगलागी भएको सूचना पाउनासाथ दमकल परिचालन हुने हो भने स्वाभाविक रुपमा आगोबाट हुने क्षति कम गर्न सकिन्छ । तर बैतडीमा रहेको दमकल पूर्वतयारीविना नै रित्तो राख्ने गरेको पाइएको छ ।
पाटन नगरपालिका–४ बस्ती जोलाबाँजमा आइतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेपछि यो रहस्य खुलेको हो ।
स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करीब ७० हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन, बैतडीले जनाएको छ ।
बिहान साढे चारबजे आगो लागेको थाहा पाएपछि महराको परिवारले प्रहरीलाई खबर गरेको र घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।
आगलागी भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पु¥याए पनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको स्थानीय राजेन्द्र विष्टले बताए ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।
दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयबासीहरुले आक्रास व्यक्त गरेका छन् । दमकल चालक विनोद केसीले भने दमकलमा पानी रहेको दाबी गर्छन् । उनले भने, ‘दमकलमा पानी थियो तर पम्पले हावा(एयर) लियो, त्यसैले हावा निकाल्न खोलामा गएको हुँ ।’
गाईवस्तुका लागि हिउँदमा खुवाउन जम्मा गरेको पराल र खर आगलागीबाट जलेर नष्ट भएको छ । आगालागी के कति कारणले लागेको हो भन्ने खुल्न सकेको छैन । यद्यपि पीडित परिवारका अनुसार छिमेकी कसैले आगो लगाएको हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्