
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
आइतबार भएको पहिलो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी र प्रदेश नम्बर ७ विजय भएका छन् ।
सशस्त्रले प्रदेश नम्बर ४ लाई ५ विकेटले तथा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो ।
राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ्स खेलेपछि प्रदेश ४ पोखराले दिएको दुई सय ४० रनको लक्ष्य सशस्त्रले ३६ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
रोहितले ४१ बलमा ७३, पृथु बास्कोटाले ५३, सुवास खकुरेलले ४८ तथा प्रदीप ऐरीले ३७ रन जोडे ।
यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले ९ विकेट गुमाएर दुई सय ३९ रन बनाएको थियो । हरिबहादुर चौहानले ५७ रन बनाए ।
यता मुलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो ।
टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१ ओभर ३ बलमै सबै विकेट गुमाउँदै एक सय २५ रन बनायो ।
सन्जु दमाईले ५४ र सुनिल चन्दले २५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । टेक सलामी एक्लैले ५ विकेट लिए ।
जवाफमा कर्णाली प्रदेशले २२ ओभर २ बल खेल्दा सबै विकेट गुमाएर ७७ रनमात्रै बनाउन सक्यो ।
म्यान अफ द म्याच शेर मल्लले ५ विकेट लिए भने विनोद लामा र सन्तोष भट्टले २–२ विकेट लिए ।
यसअघि प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए ।
पहिलो पटक संघीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलहरुमा कीर्तिपुर मैदानमा नेपाल पुलिस र प्रदेश ७ तथा मूलपानीमा प्रदेश २ र प्रदेश ४ बीचको खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्