१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


जितपुर–तौलिहवा सडक एक महिनाका लागि बन्द


0
Shares

कपिलबस्तु, जेठ १४ । कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (४ नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ ।

सडक स्रोन्नति गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागि चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।

तौलिहवा–जितपुर सडकको जितपुरदेखि ओदारीको विभिन्न खण्डमा कालोपत्रे हुने भएकाले सोमबार (आज) देखि एक महिना सडकखण्ड बन्द हुने उनले जनाए । ‘यो सडकखण्डमा २४ सै घण्टा यातायात सेवा बन्द हुन्छ,’ उनले भने ।

तौलिहवाबाट जितपुर ४ नम्बर, बुटवल, पोखरा, काठमाडौंको लागि छोटो दुरीको सडकको रुपमा रहेको तौलिहवा–जितपुर सडक एक महिना बन्द हुने भएपछि यात्रुहले अब लामो दुरीको यात्रा गर्नुपर्ने भएको छ ।

कार्यालयले सो बाटोको सट्टा वैकल्पिक बाटोको रुपमा गोरुसिङगे–तौलिहवा, बुङची–कोपवा–जहदी, पिपरा–प्रगतिनगर–ओदारीको बाटो प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

डिभिजन सडक कार्यालयले सूचना प्रकाशन गर्दै जेठ १४ गतेबाट एक महिनासम्म सडक बन्द गर्ने जानकारी दिएको छ । सदरमुकाम तौलिहवालाई राजमार्गसम्म जोड्ने प्रमुख सडक (तौलिहवा–जीतपुर) को स्तरोन्नतिको कार्य सुरु गरिएको छ ।

एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि सडक डिभिजन कार्यालय कपिलवस्तुले यो सडक खण्डलाई फराकिलो बनाउन थालेको हो ।

‘जीतपुर–तौलिहवा सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण थालिएको हो,’ डिभिजन प्रमुख पौडेलले भने । गत भदौबाट सर्भे सुरु भई मंसिरबाट निर्माण थालिएको यस सडक २० महिनामा पूरा गर्नेगरी ठेक्का दिइएको थियो ।

भ्याटबाहेक ३३ करोड बढीमा निर्माता कम्पनी बज्रगुरु दिवा एमकेजेभीले ठेक्का लिएको छ ।

सदरमुकामलाई राजमार्गसम्म जोड्ने सिङ्गल लेनको २१ किलोमिटर लामो यो सडक पञ्चायतकालमै बनेको थियो । तर कालोपत्रेको काम भने वि.सं. २०४६ बाट सुरु भएर २०६० मा सम्पन्न भएको थियो । हाल सोही सडकलाई दुईलेन (फराकिलो) बनाउने काम जारी छ ।

राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा कपिलवस्तुका २ दर्जन सडक प्राथमिकताको सूचीमा परेका थिए ।