२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बजेट सकारात्मक तर निजी क्षेत्रलाई संकुचित बनाइयो : महासंघ


0
Shares

महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्दै पर्यटन, ऊर्जा, कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएपनि करका विषयले निजी क्षेत्रलाई संकुचित बनाएको जनाएको हो ।

महासंघले बजेटले निजी क्षेत्रलाईभन्दा सहकारी क्षेत्रलाई बढी महत्व दिएको भन्दै गुनासोसमेत गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले बलियो सरकार हुँदा आक्रामक बजेट आउने अपेक्षा गरिएअनुसारको बजेट नआएको बताइन् ।

महासंघले विदेशी लगानी आकर्षित नगरेसम्म ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौती रहेको पनि जनाएको छ ।

महासंघले उद्योग–व्यवसाय क्षेत्रले विगत वर्षमा प्रस्तुत् हुँदै आएका बजेटभन्दा फरक र नयाँ दिशानिर्देश गर्ने अपेक्षा गरेको जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आमूल परिवर्तन गर्ने खालको नभइ यथार्थपरक बजेट आएको बताए । तर, निजी क्षेत्रले अपेक्षा गरेअनुसारको नभएको उनको भनाइ थियो ।

उनले अन्तशुल्क थपेर प्रगति गर्दै आएका कम्पनीलाई निरुत्साहित पार्न खोजिएकोसमेत बताए ।

उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट सकारात्मक रहेपनि धेरै ताली पिट्ने खालको नभएको बताए ।

उनले यो बजेट राजनीतिक नभइ ‘ब्युरोक्र्याटिक’ बजेट भएको पनि बताए । करिब दुई तिहाइको सरकारले ल्याएको बजेट दुर्बल बजेट भएको उनको टिप्पणी छ ।

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले निजी क्षेत्रलाई भ्याट फिर्ता गर्छु भनेर प्रतिबद्धता जनाइसकेको सरकार पछि हटेर बेइमानी गरेको बताए । बजेटले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक रहेको उनको भनाइ थियो ।