इन्धन भन्डारणगृह बनाउन नुवाकोटमा जग्गाको पहिचान • Image Khabar Image Khabar


इन्धन भन्डारणगृह बनाउन नुवाकोटमा जग्गाको पहिचान


Imagekhabar
१९ जेष्ठ २०७५, शनिबार १५:१८

इन्धन भन्डारणगृह बनाउन नुवाकोटमा जग्गाको पहिचान

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भन्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ले विदुर नगरपालिका–५ स्थित बुनीबेसीमा जग्गा पहिचान गरेको हो ।

मन्त्रालयले वैशाख १९ मा सो कार्यदल गठन गरेको थियो ।

कार्यदलले यहाँका विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको स्थलगत् अवलोकनपश्चात् उक्त स्थानमा जिल्ला समन्वय समितिको नाममा रहेका ८९ रोपनी जग्गा इन्धन भन्डारणगृहका लागि उपयुक्त रहेको ठहर गरेको संयोजक जोशीले जानकारी दिए ।

‘यहाँका सरोकारवालासँगको समन्वयमा विभिन्न पाँच स्थानको अवलोकन गर्दा बुनीबेसीमा रहेको जग्गा तुलनात्मकरुपमा बढी सम्भाव्यता भएकोे पाएका छौं’–जोशीले भने–‘गल्छी–रसुवागढी सडकमार्गसँग जोडिएको, समथर भू–भाग, सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त रहेकाले छनोट गरी प्रतिवेदनमा समावेश गर्न लागिएको हो ।’

जिल्ला मालपोत कार्यालयकाअनुसार उक्त जग्गा हाल १७ परिवार मोहीले उपभोग गर्दै आएका छन् ।

दुई वर्षअघि चीन सरकारले नेपालमा तीन ठूला इन्धन भन्डारणगृह बनाउन जनाएको प्रतिबद्धतालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणकाक्रममा कार्यान्वयनका लागि एजेन्डा पेस गर्न मन्त्रालयले गठन गरेको कार्यदल जग्गा पहिचानमा सक्रिय भएर लागेको हो ।

मुलुकलाई कम्तीमा ९० दिन पुग्ने इन्धनको भन्डारणगृह निर्माणका लागि चीन सरकारले तीन स्थानमा चासो देखाएपछि जग्गाको खोजीका लागि नुवाकोटसहित गोरखा, तनहुँ, ललितपुर र काभ्रेमा जग्गाको पहिचान अन्तिम चरणमा पुगेको जोशीले जानकारी दिए ।

‘कम्तीमा एक स्थानमा २० विगाहाका दरले तीन स्थानमा जग्गाको पहिचान गर्न लागेका छौं’–उनले भने–‘बुनीबेसीको जग्गा करिब सात विगाहामात्र भएपनि उपयुक्त स्थान र आसपासको जग्गा अतिक्रमण गरी चाहिएजति पुर्‍याउनसकिने देखिएको छ ।’

उनकाअनुसार पहिचान भएको जग्गाको गहन अध्ययन, भूगोलसम्बन्धी प्राविधिक परीक्षण गरी प्रतिवेदन तयार हुनेछ ।

‘प्रतिवेदनलाई मन्त्रालयले चीन सरकारले प्रतिबद्धता जनाएअनुसार इन्धन भन्डारणगृह निर्माणका लागि कार्यान्वयन गराउन हस्तान्तरण गर्नेछ’–उनले भने ।

नेपाल आयल निगमसँग अहिले पेट्रोलियम पदार्थको भन्डारण क्षमता काठमाडौंकेन्द्रित ७१ हजार १९८ किलोलिटरको छ । निगमकाअनुसार उक्त क्षमता करिब सात दिनका लागिमात्र पुग्नेछ ।

चीन सरकारको सहयोगअन्तर्गत् भन्डारण क्षमता वृद्धि गराउन चाहेको निगमले संघीय संरचनाअनुसार प्रत्येक प्रदेशमा एक/एक भन्डारणगृह निर्माण गर्न तयारी पनि अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्