२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ऐतिहासिक तथा पुरातात्विक स्थल ज्यामरुककोट पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा


0
Shares

म्याग्दी, कात्तिक २१ । ऐतिहासिक तथा पुरातात्विक स्थल म्याग्दीको ज्यामरुककोट संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बेनी नगरपालिका–२ मा रहेको पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावना भएको ज्यामरुककोटको प्रचार हुन नसक्दा ओझेलमा परेको हो । सदरमुकाम बेनीबजारदेखि करिव एक घण्टाको पैदल दुरीमा पर्ने ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना छन् ।

ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी धौलागिरि र गण्डकी क्षेत्रका ३० भन्दा बढी गाउँहरु देख्न सकिन्छ भने सूर्योदयको दृश्य पनि निकै आकर्षक देखिन्छ ।

कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी पुगेका ७५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीले बताए ।

ज्यामरुककोटको गौश्वारा गाउँमा रहेको राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्दछ । ज्यामरुककोटको इतिहास १५ औं शताब्दीको विरासतसँग जोडिएको छ ।