१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


अशिक्षित महिलालाई पढाउन खोलिएको विद्यालय आर्थिक अभावमा बन्द (भिडियो)


0
Shares

नवलपरासी, जेठ २७ । नवलपरासीको कावासोतीमा अशिक्षित महिलालाई पढाउने उद्देश्यले खोलिएको विद्यालय आर्थिक अभावका कारण बन्द भएको छ ।

प्रावि, निमावि र मावि गरी ६ वर्षसम्म पढाइ हुने विद्यालयको शैक्षिक क्रियाकलाप बन्द भएपछि महिला बीचमै पढाइ छाड्न बाध्य भएका छन् ।

अशिक्षित महिलालाई साक्षर बनाउने सरकारको अभियान अन्तर्गत विसं २०६६ मा नवलपरासीको कावासोतीमा नमूना महिला विद्यालय स्थापना भयो । पढ्ने अवसर नपाएका र बीचमा पढाइ छाडेका महिलालाई लक्षित गरी खोलिएको विद्यालयमा स्थानीय महिलाको उत्साहजनक सहभागिता थियो ।

स्थानीय महिलाको लागि ज्यादै उपयोगी बनेको विद्यालयमा महिलालाई सीपमुलक कार्यक्रमदेखि एसएलसी दिनेसम्मको व्यवस्था थियो । प्रौढसमयमा शिक्षा प्राप्तिको राम्रो अवसरका कारण स्थानीय महिला निकै हौसिएका थिए । तर विद्यालय सञ्चालनको खर्च धान्न नसकेर गत दुईवर्षदेखि विद्यालय बन्द भएको छ ।

विद्यालय बन्द भएपछि पढ्ने इच्छा भएका महिला निराश भएका छन् साथै नगरपालिकाले पहल गरी गृहिणी कक्षा सञ्चालन गर्न माग समेत गरेका छन् ।

विद्यालय सञ्चालन हुँदा महिलाको व्यापक सहभागिता भए पनि तत्काल विद्यालय पुनर्सञ्चालन गर्ने अवस्था नरहेको विद्यालयका संस्थापक अध्यक्ष दुर्गा भण्डारीको भनाइ छ । कुमारी संस्थाद्वारा सञ्चालित विद्यालयमा पहिले विभिन्न स्थानबाट सहयोग आए पनि हाल सहयोग आउन छोडेकोले पठनपाठन बन्द भएको अध्यक्ष दुर्गा भण्डारीको भनाइ छ ।

महिला साक्षरका यस्ता कार्यक्रम बन्द गरिनु राम्रो होइन । पढ्नका लागि तीव्र इच्छा भएका जोकोहीलाई सहज रुपमा पढ्ने अवसर मिलाउन सरकारले ध्यान दिनु जरुरी छ ।

भिडियो हेर्नुहोस्