
काठमाडौं । चीनले आफ्नो नियन्त्रणमा रहेको १० भारतीय सैनिकलाई रिहा गरेको छ ।
लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो ।
रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।
भारत सरकारले भने सैनिकहरुको रिहाइबारे केही जनाएको छैन । उसले लद्दाखको भिडन्तमा भारतीय सैनिकहरु बेपत्ता भएकोबारे पनि केही बोलेको थिएन ।
गत सोमबार गल्वान उपत्यकाको विवादास्पद सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए ।
घटनामा ७६ भारतीय सेना घाइते भएको बताइएको छ । घटनापछि केही सैनिक सम्पर्कवीहिन बनेका थिए ।
बुधबार दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक भएको थियो । विवाद कम गर्न दुई देशका उच्च सैन्य अधिकारीबीच पनि वार्ता भएको थियो ।
वार्तामा भारतीय पक्षले राखेको पहिलो मागअनुसार चीनले आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा गरेको अनुमान गरिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्