२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साउदी राजकुमार खालिद रिहा


0
Shares

काठमाडौं, कात्तिक १८ । साउदी अरबमा भ्रष्टाचारविरुद्धको कारबाहीको आलोचना गरेको आरोपमा पक्राउ परेका राजकुमार खालिद बिन तलाल रिहा भएका छन् ।

करिब एक वर्षअघि नियन्त्रणमा लिइएका राजकुमार खालिद साउदी राजा सलमानका भतिजा हुन् ।

भ्रष्टाचारविरुद्धको कारबाहीकाक्रममा खालिदका दाजु राजकुमार अलवालीद बिन तलालसहित दर्जनौं राजकुमार तथा अरू शक्तिशाली व्यक्तिहरू पक्राउ परेका थिए ।

साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणलाई लिएर साउदी युवराज मोहम्मद बिन सलमानमाथि दबाब बढिरहेका बेला खालिद रिहा भएका हुन् ।

विश्लेषकहरुले साउदी अधिकारीहरू राजपरिवारभित्रबाट समर्थन बढाएर अहिलेको संकट निवारण गर्न चाहेको देखिने बताएका छन् ।

साउदी सरकारले राजकुमार खालिदलाई पक्राउ र रिहा गर्नुबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

तर, ‘वाल स्ट्रीट जर्नल’काअनुसार गत वर्ष २०० भन्दा बढी राजकुमार, मन्त्री तथा व्यापारीहरूलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएकामा खालिदले त्यसको आलोचना गरेका कारण नियन्त्रणमा राखिएको हो ।

उनीहरु सबैलाई राजधानी रियादस्थित पाँचतारे रिट्ज कार्लटनसहितका होटलमा राखिएको थियो ।

गत जनवरीको अन्त्यमा भ्रष्टाचारविरुद्ध कारबाही सुरू भएलगत्तै साउदी महान्यायाधिवक्ताको कार्यालयले १०० अर्ब डलरभन्दा बढी रकम बराबरको संगठित भ्रष्टाचार भएको जनाएको थियो । (एजेन्सी)