
अंकरा, कात्तिक १७ । साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन् ।
टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दाबी छ ।
टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजात लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका थिए ।
राष्ट्रपति एर्दोगानले पहिलोपटक प्रत्यक्षरूपमा साउदी सरकारलाई खशोग्गीको हत्याको आरोप लगाएका हुन् ।
अमेरिकी पत्रिका ‘द वासिङ्टन पोस्ट’मा प्रकाशित उनको एउटा लेखमा भनिएको छ–‘हामीलाई थाहा छ, खशोग्गीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो ।’
राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफूलाई विश्वास नलागेको बताएका छन् ।
उनले साउदी अरबसँगको टर्कीको मित्रवत् सम्बन्धमा यही घटनाका कारण असर पर्न नहुनेमा पनि जोड दिएका छन् ।
टर्कीका अनुसन्धानकर्ताले निर्वासित जीवन बिताइरहेका पत्रकार खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर हत्या गरिएको दाबी गरेका छन् ।
सुरूमा साउदी अरबले ढाकछोप गर्न खोजेको खशोग्गी हत्या प्रकरणले साउदी अरब र अन्य देशको सम्बन्धमासमेत असर पारेको छ ।
खशोग्जीले स्तम्भ लेख्ने गरेको वासिङ्टन पोस्टमै लेख लेख्दै एर्दोगानले साउदी अरबमा पक्राउ परेका १८ संदिग्धमध्ये नै दोषी भएको दाबी गरेका छन् ।
दशकौंसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारकारूपमा पनि काम गरेका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध बिग्रिएको थियो ।
राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन बिताउँदै वासिङ्टन पोस्टमा लेख लेख्दै आएका थिए ।
मासिकरुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्ने गरेका थिए । त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्