६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


हतियारसहित नेपाल आए दुई भारतीय सुरक्षाकर्मी


0
Shares

काठमाडौं, कार्तिक १४ । हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पुरा गरेर भारतीय अधिकारीको जिम्मा लगाएको छ ।

मंगलबार सुनौली नाका हुँदै दुई भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेका थिए । भैरहवास्थित भन्सार कार्यालय नजिकै आएका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

स्थानीयवासीले बर्दी र हतियारसहित नेपाली भूमिमा आएका भारतीय प्रहरीलाई घेराउ गरेपछि नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर राखेको थियो । केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । 

सामान्य स्थिति बनेपछि नेपाल प्रहरीले भारतीय अधिकारीसँग सम्पर्क गरी ती दुई भारतीय प्रहरीलाई फिर्ता पठाएको बताइन्छ ।

भारतीय संचारमाध्यमले भने भारतको गोरखपुर जिल्लाका एक प्रहरी अधिकारीको सुरक्षामा ती दुई भारतीय प्रहरी नेपाली भूमि प्रवेश गरेको जनाएका छन् । ती प्रहरी अधिकारी नेपाल भ्रमणका लागि सुनौली नाका हुँदै आएका थिए । ‘भैरहवा भन्सार कार्यालय नजिकै गोरखपुरका प्रहरी अधिकारीलाई पुर्‍याएर ती दुई भारतीय प्रहरी भारततर्फ फर्कन लागेको बेला स्थानीयले घेराबन्दी गरेका थिए,’ भारतीय अखबार दैनिक जागरणले लेखेको छ ।

हतियारसहित नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी आएपछि स्थानीयले विरोध जनाएको र नेपाल प्रहरीले उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी भारततर्फ फर्काएको स्थानीय प्रशासनको भनाइ छ ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी तैनाथ हुने भए पनि भारतीय प्रहरी बर्दी र हतियारसहित कसरी नेपाली भूमिमा प्रवेश गरे ? उनीहरु प्रवेश गर्दा नेपालको प्रहरीले सीमा क्षेत्रमा किन रोक्न सकेन ? प्रष्ट हुन सकेको छैन । स्थानीयले विरोध जनाएपछि मात्र नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।