
म्याग्दी । म्याग्दीका किसान आधुनिक प्रविधितर्फ आकर्षित भएका छन् ।
सीमित जनशक्ति र समयको बचत हुने भएपछि यहाँका किसानले खेत जोत्न ट्रयाक्टरको प्रयोग गर्न थालेका हुन् ।
युवा जनशक्ति विदेश पलायन भइरहेका बेला यस्तो प्रविधि किसानका लागि बरदान सावित भएको छ ।
गोरुको सहयोगले खेत जोत्ने परम्परा क्रमशः कम हुँदै गएको छ । यहाँका किसानले हाते ट्रयाक्टर वा चार पाङ्ग्रे ठूलो ट्रयाक्टर प्रयोग गरेर खेत जोत्न थालेका छन् ।
त्यसका लागि किसानले ट्राक्टर सञ्चालनको तालिमसमेत लिन थालेका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार, जिल्लाको ताकम, दरबाङ, बावियाचौर, अर्मन, कुहु, पात्लेखेत, विम, निस्कोट, देविस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, पुलाचौर, सिंगालगायतका क्षेत्रका किसानले ट्रयाक्टरको प्रयोग बढाउँदै लगेका छन् ।
कार्यालयले कृषि इञ्जिनियरिङ निर्देशनालयसँग सहकार्य गरेर ३० प्रतिशत अनुदानमा किसानलाई ट्रयाक्टरसमेत वितरण गर्दै आएको छ ।
गत आर्थिक बर्षमा हाते र चारपाङ्ग्रे गरी १ सय ५० वटा ट्रयाक्टर वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्