
काठमाडौं । नेपाली कांग्रेसको विधान टुंग्याउन भइरहेको ढिलाइले महासमितिको बैठक नै प्रभावित हुने आशंका बढिरहेका बेला तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वमाथि दबाब बढेको छ ।
विधानलाई अन्तिम रुप दिएर महासमितिको बैठक सुनिश्चित गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो ।
नेपाल विद्यार्थी संघमा उमेर हद तोक्दा नेताहरुबीच विवाद बढेपछि पछिल्लो पटक बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।
अहिले पनि शीर्ष नेताहरुबीच यो विषयमा सहमति जुट्न सकेको छैन ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित बैठक बोलाउन अब थप ढिलाई भए महासमिति नै प्रभावित हुने देखिएको छ ।
कांग्रेसले महासमिति बैठक मंसिर ५ देखि काठमाडौंमा गर्ने तय गरेको छ ।
महासमितिको मुख्य एजेन्डाको रुपमा रहेको विधान अझै मस्यौदा समितिले टुंग्याउन सकेको छैन ।
पार्टी विधान नटुंगिएकाले केन्द्रीय समिति बैठक नबोलाइएको बताइएको छ । समितिमा नै विधानको बारेमा एक मत छैन ।
सभापतिलाई दिने अधिकार, पदाधिकारी चयन प्रक्रिया, महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व लगायतका विषय टुंगो लाग्न बाँकी छ ।
केन्द्रीय सदस्य दिपक गिरी महासमिति बैठक प्रभावित नहुने गरी तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताउँछन् ।
कांग्रेसले महासमितिमा पेश गर्ने प्रतिवेदनको तयारीका लागि विभिन्न समिति बनाएर काम गराइरहेको छ ।
केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिएपछि केन्द्रीय समिति बैठक बस्ने बताउँछन् ।
केन्द्रीय समितिको बैठक बस्नुअघि विधान मस्यौदामा देखिएका विवाद समाधान गर्नुपर्ने हुन्छ ।
त्यसका लागि शीर्ष नेताहरुबीच अहिलेसम्म ठोस छलफल भएको देखिँदैन ।
यसले कांग्रेसको महासमितिको बैठक नै प्रभावित हुने सम्भावनालाई समेत नकार्न सकिँदैन
प्रतिक्रिया दिनुहोस्