Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मिटर ब्याजी पीडितलाई भेट्न गृहमन्त्री गुरुङ निजगढमा


0
Shares

प्रकाश लम्साल, बारा । मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले आज बाराको निजगढमा भेटेर छलफल वार्ता गर्नुभएकाे छ ।

मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका आन्दोलनकारी र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार निजगढमा वार्ता भएको हो।

मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री गुरुङ मंगलबार बिहानै निजगढ पुगेका थिए। निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल मार्चमा सहभागीहरूले बताउनुभएकाे छ ।
दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृहकार्यमा जुटेका छन्।

गृहमन्त्रीले उनीहरूका मागबारे प्रधानमन्त्रीसँग टेलिफोनमा परामर्श गर्नुभयाे । त्यसपछि केहीबेरमै मिटरब्याजपीडितसँग दोस्रो चरणको वार्ता हुने जनाइएको छ। अधिकांश पीडितले अदालत र प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको गुनासो गृहमन्त्रीसमक्ष राखेका छन्। गृहमन्त्री गुरुङले पीडितका गुनासा सुन्दै टिपोट गरिरहनुभएकाे छ ।

भवनभित्र आफ्नो पीडा सुनाउँदै धेरै पीडित भक्कानिएका छन्। पीडितहरूका भावुक अभिव्यक्तिले गृहमन्त्री गुरुङ पनि भावुक बन्नुभएकाे छ ।

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगर्दा साहुको ज्यादती अझै खेप्नुपरेको भन्दै मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले बिहीबारदेखि जनकपुरको तिरहुतिया गाछीबाट तेस्रो चरणको पैदल मार्च सुरु गरेको थियो।