Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


विद्यालयका प्रधानाध्यापकसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं, कात्तिक ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सातजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार आरोपी मल्लले २०७४ भदौ महिनादेखि माघ महिनासम्म करिब ६ महिना बिदा स्वीकृत नगराइ क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ ।

गैरकानुनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ६२ हजार ७५३ बराबरको तलब, भत्ता, दसैंखर्च, सञ्चयकोष थप रकम, बिमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगकाअनुसार आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानुनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यस्तै, रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, द्वारी, नवलपरासीका अस्थायी शिक्षक ज्योतिप्रकाश अर्यालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा बिहीबारै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस