८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


इथियोपियामा पहिलो महिला राष्ट्रपति


0
Shares

अडिस अबाबा, कात्तिक ८ । इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् ।

दुवै संसदले बिहीबार साहले वर्क जेवडेलाई नयाँ राष्ट्रपतिकारूपमा निर्वाचित गरेको जनाइएको छ ।

निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजीनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिकारूपमा निर्वाचित हुने मौका पाएकी हुन् ।

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडि नयाँ राष्ट्रपति जेवडेले बिहीबार नै शपथग्रहण गरेकी छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबै जनतालाई एकताको सूत्रमा बाँध्ने काममा आफूले जोड दिने बताइन् ।

उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिकारूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कूटनीतिज्ञकारुपमा चिनिन्छ ।

उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूतसमेत भएकी थिइन् ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजीनामा स्वीकृत गरेपछिमात्रै ६८ वर्षीया जेवडेलेलाई निर्वाचित गरेको थियो ।

सन् २०१३ को अक्टोबर ७ तारिखका दिन राष्ट्रपतिमा निर्वाचित भएका ६३ वर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत थिए ।

उनले सरकारी उच्च अधिकारीकारूपमा र विभिन्न मन्त्रालयको मन्त्रीकारुपमा पनि जिम्मेवारी सम्हाली सकेका थिए । रासस/सिन्ह्वा