१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


जापानका प्रधानमन्त्री चीन भ्रमणमा


0
Shares

बेइजिङ, कात्तिक ८ । जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित बिहीबार चीनको बेइजिङ आइपुगेका छन् ।

दुवै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलोपटक भएको हो ।

दुवै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका थिएनन् ।

सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापानविरोधी घटना भएका थिए । तर, पछिल्ला वर्षहरुमा दुवै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्ने निकै प्रयास भएका छन् ।

सन् २०१४ मा प्रधानमन्त्री आबे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच एक शिखर बैठककाक्रममा भेटवार्ता भएपछिमात्र दुवै देशबीच मन्त्रीस्तरीय भ्रमण आदान–प्रदान भएका थिए ।

जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुवै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

‘संयुक्तराज्य अमेरिकासँगको व्यापार युद्धले दुई मुलुकलाई केही नजिक ल्याउन मद्दत गरेको देखिन्छ’–मेन विश्वविद्यालयका उपप्राध्यापक एवं जापान–चीनसम्बन्धी विज्ञ क्रिस्टिन वेकासीले बताए–‘यस अर्थमा दुवै मुलुक एउटै डुंगामा छन् र आर्थिक अवसरका कारणले अमेरिकाबाट जापान केही टाढिएको अवस्थामा चीनसँगको सम्बन्धमा निकटता आउने सम्भावना बढी छ ।’

दुवै नेताले इन्डोनेसिया र फिलिपिन्ससमेतका मुलुकमा पूर्वाधार निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ ।

प्रधानमन्त्री आबेले चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजनामासमेत अभिरुचि राखेका छन् । तर, विज्ञहरुले यो परियोजनामा यही भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् ।

दुवै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् ।

जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सन्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ । रासस/एएफपी