
बेसीसहर, कात्तिक ७ । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली कांग्रेसका नेताको बुधबार मृत्यु भएको छ ।
मनाङको तिलिचो ताल घुम्न गएका करिब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो ।
अधिकारी पोखरा–३३ मा कांग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुन् ।
तिलिचो तालमा पुगेर फर्कनेक्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
पोखराबाट यही कात्तिक ४ गते बिहान सात साथीका साथमा अधिकारी मनाङको यात्रामा निस्किएका थिए ।
तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि बुधबार बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकैक्रममा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गन्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्