१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


साउदी पत्रकार खशोग्जीको हत्याको प्रमाण रहेको दाबी


0
Shares

काठमाडौं, कात्तिक ६ । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्ने योजना निकै दिनअगाडि नै भएको हुनुपर्ने बताएका छन् ।

आफ्नो पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र क्रुर हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको बताए ।

राष्ट्रपति अर्दोगानले खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संकेतहरूको खन्डन गरे । उनले घटनाका संदिग्धविरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे ।

खशोग्जीको शव कहाँ छ र उनको हत्या गर्ने आदेश कसले दियो भन्ने प्रश्नहरूको जवाफ पनि साउदी अरेबियाले दिनुपर्ने अर्दोगानको माग छ ।

साउदी अरेबियाले खशोग्जीको मृत्यु आफ्नो वाणिज्यदूतावासभित्र झगडाकाक्रममा भएको दाबी गरेको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको निर्देशनबिना सक्रिय एजेन्टहरूमाथि हत्याको दोष लगाइएको छ ।

खशोग्जी युवराज सलमानका आलोचक मानिन्थे । (एजेन्सी)