१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


यस्तो छ चीनले समुद्रमा बनाएको संसारकै लामो पुल (फोटो)


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, कात्तिक ६ । विज्ञान र प्रविधिको क्षेत्रमा जति पनि चमत्कार देखिएका छन्, त्यसमा पछिल्लो समय अग्रणी स्थान चीनले नै राख्दै आएको छ ।

समुद्रमा ५५ किलोमिटर लामो पुल बनाएर चीनले पूरै विश्वलाई चकित बनाएको छ ।

विज्ञान र प्रविधिको विकासले छलाङ मार्दै जाँदा त्यसको सदुपयोग चीनले राम्रैसँग गरेको छ ।

चीनले समुद्रमा निर्माण गरेको ५५ किलोमिटर पुल अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।

यो पुलको मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरे ।

संसारकै सबैभन्दा लामो सामुद्रिक पुल मंगलबारदेखि सन्चालनमा आएको हो ।

उद्घाटन समारोहमा चीनसँगै मकाउ र हङकङका शीर्ष नेताहरु पनि सहभागी थिए ।

सर्वसाधारणका लागि भने यो पुल बुधबारबाटमात्रै खुल्ला गरिनेछ ।

यो पुल निर्माणसँगै अब चीनबाट दक्षिणी सहर झुहाई, हङकङ, र मकाउसम्म सीधै यात्रा गर्न सकिनेछ ।

पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर समुद्रको माथि पर्छ । बाँकी भाग समुद्रको मुनि पर्दछ । यो पुलको बीचभाग ६.७ किलोमिटर गहिरो छ ।

पुलको मार्गमा दुई ठाउँमा कृत्रिम ‘आइल्यान्ड’ बनाइएको छ ।

पानीजहाजलाई ओहोरदोहोर गर्न सजिलो होस् भनेर समुद्रमुनिबाट पुललाई लगिएको हो ।

सामुद्रिक आँधी र ८ म्याग्निच्यूडसम्मको भूकम्पले यसलाई कुनै क्षति पुर्‍याउनसक्ने छैन ।

यो पुलमा चार लाख टन स्टील प्रयोग गरिएको छ । जुन ६० ओटा ‘आइफल टावर’ बनाउन पुग्ने बराबरको छ ।

पुल बनाउनेक्रममा १८ जना कामदारको ज्यानसमेत गएको थियो भने सयौं मजुदर घाइते भएका थिए ।

यसको निर्माणमा २० बिलियन अमेरिकी डलर अर्थात् नेपाली दुई खर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । पुल निर्माण सम्पन्न गर्न ९ वर्षको समय लागेको थियो ।

यो पुल बनेसँगै चीनबाट हङकङ, र मकाउसम्मको यात्रा निकै छोटिएको छ ।

यसअघि, चीनबाट हङकङ र मकाउ जान चार घन्टा लाग्ने गरेकामा अब भने ३० मिनेटमै गन्तव्यसम्म पुग्न सकिनेछ । यो पुलबाट दैनिक ९ हजार २०० सवारी–साधन आवत–जावत गर्नसक्नेछन् ।

यसमा रेलमार्ग भने बनाइएको छैन ।

यो पुल सन्चालनमा आएपपछि चीनलाई वर्षेनि ८६ मिलियन अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ । –एजेन्सीको सहयोगमा