८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


दशैंको सरकारी बिदा सकिए पनि सुनसान छन् कार्यालयहरु (भिडियो)


0
Shares

दीपक श्रेष्ठ

काठमाडौं, कार्तिक ५ । सरकारले सार्वजनिक बिदा कटौती भन्दै यस पटकदेखि दशैंको बिदा छोट्याएर फूलपातीदेखि एकादशीसम्म सीमित ग¥यो । योसँगै द्वादशीदेखि सबै सरकारी कार्यालय एवं संस्थान खुल्ला भएका छन् ।

सेवाग्राही र आम सर्वसाधारणलाई सेवा प्रवाहमा समस्या नहोस् भनी बिदा कटौती गरेर कार्यालय सुचारु गरिए पनि अधिकांश सरकारी कार्यालय अझै सुनसान देखिएका छन् ।

बडा दशैं नेपालीहरुको महत्वपूर्ण एवं लामो चाड हो । घटस्थापनादेखि विधिवत रुपमा शुरु हुने यो चाड पूर्णिमासम्म नै हर्षोल्लासपूर्वक मनाइन्छ । देश विदेशका विभिन्न स्थानमा रहेका नेपाली टाढाटाढादेखि आफन्तकहाँ जम्मा हुने महत्वपूर्ण अवसर हो । यो समयमा स्कूल, कलेज पूर्ण रुपमा बन्द हुन्छन् ।

सरकारले पनि अघिल्लो केही बर्षअघि सम्म घटस्थापना अनि सप्तमीदेखि पूर्णिमासम्म पूरै अवधि सार्वजनिक बिदा दिँदै आएको थियो । तर यस पटक भने घटस्थापना अनि द्वादशीदेखिका बिदा कटौती भए ।

सरकारी कार्यालय, संघ–संस्था सुचारु भए, तर नाममात्रका । हाम्रो टोली सोमबार दिउँसो सिंहदरबार र अन्य केही सरकारी कार्यालय घुम्दा अधिकांश स्थान सुनसान भेटिए । कर्मचारीहरु बस्ने मेच रित्ता पाइयो । कार्यालहरु सीमित कर्मचारीका भरमा जेनतेन चलेका थिए । 

हामी दिउँसोे १२ बजेर २५ मिनेट जाँदा काठमाडौ ठूलो भ¥याङस्थित यातायत ब्यवस्था कार्यालय सवारी अनुमतिपत्र, प्रदेश मम्बर ३ मा पुग्दा केही नगण्य संख्यामा रहेका कर्मचारीहरुले सेवा दिइरहेका थिए । सेवाग्राहीको सेवाको लागि राखिएको हेल्प डेस्कदेखि कार्यालय प्रमुखको कुर्सी र अन्य कर्मचारीहरुको कुर्सीसमेत खाली रहेको पाइयो ।

चालक अनुमतिपत्रका बारे सोधपुछ गर्न पुगेका सेवाग्राहीहरु कर्मचारी नदेख्दा अलमलमा परेको बताउँछन् ।

लगत्तै हामी वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहेको श्रम ग्राम पुग्यौं । यहाँ भने श्रम स्वीकृतिको लागि आउने सेवाग्राहीहरुको चापसँगै कर्मचारीको उपस्थिति पनि सन्तोषजनक नै देखियो । सेवाग्राहीहरु पनि यहाँका कर्मचारीको कामप्रति सन्तुष्टै नै देखिए ।

यसैगरी हामी कलंकीमा रहेको मालपोत कार्यालय पुग्दा कार्यालय प्रमुख लगायत अधिकांश कर्मचारी बस्ने कोठा र कुर्सी खाली पाइयो । कर्मचारीहरुको अनुपस्थितिका बारेमा बुझ्न खोज्दा कोही टाढा भएर नआइपुगेको, कोही बिदामा बसेको र कतिपय त हाजिर गरेर टीका थाप्न हिंडेको बताइयो ।

सरकारले कर्मचारीहरुलाई आवश्यक बिदा नै दिने वा काममा नियमित रुपमा उपस्थित हुने अवस्था सिर्जना गर्न जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्