
म्याग्दी, कार्तिक ५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को नामले चर्चित छ । संसारभरी नै चासो राखिने र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय बन्दै गएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा ४ नं प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजका काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदुरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छी संकटमा परेको हो । सडकले गल्छी नै संकटमा पारेकाले समयमै संरक्षणका लागि पहल गर्न आवश्यक भएको अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुनले बताए ।
सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाए पनि बजेट अभावमा मर्मत हुन नसकेको स्थानीयबासीले बताएका छन् । छिमेकी देश चीनको तिब्वतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो गल्छी मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्