८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


राष्ट्रिय झण्डाको व्यापक दुरुपयोगः राजनीतिक दलदेखि सरकारी अधिकारीसम्म दोषी


0
Shares

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा विश्वमै उदाहरणीय मानिन्छ ।

त्यसैले त सबै मुलुकका झन्डा फहराउने संयुक्त राष्ट्र संघले पनि नेपालको झन्डालाई अद्वितीय भन्ने उपमा दिएको छ । तर पछिल्लो समय नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग हुने क्रम बढेको छ ।

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो

जीउँदो रगत सरी यो बल्दो यो शान हाम्रो

यो गीत नेपालीले सुनेका मात्र छैनन्, गाएका छन्, गुनगुनाएका छन् र आफ्नो मन र मुटुमा गर्वका साथ राखेका पनि छन् ।

कहिल्यै कसैको दास बन्नु नपरेको नेपालको गौरवशाली इतिहास छ ।

सोही गौरवशाली इतिहासमा नेपालको राष्ट्रिय झन्डाको गाथा पनि यो गीतले बोकेको छ ।

नेपालको झन्डाले ऐतिहासिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको छ ।

नेपालको झन्डामा रातो रंगको कपडामा त्रिभुज आकारमा दुईवटा फुर्का र नीलो रंगको किनारा छ ।

माथिल्लो त्रिभुजमा आठ कोण भएको खुर्पे चन्द्रमा छ भने तल्लो त्रिभुजमा बाह्र कोणवाला सूर्य अंकित छ ।

झन्डामा देखिने सेतो, रातो र नीलो रंगले सत्व, रज र तम तीन गुणको प्रतिनिधित्व गर्दछ ।

सत्वगुणले प्रकाश स्वच्छता र ज्ञान, रजगुणले तेज, साहस, वीरता, स्वतन्त्रता र तमगुणले विपक्षको नियमन तेजोवध र दुष्ट दमन गर्न सक्ने शक्ति दिन्छ भन्ने विश्वास गरिन्छ । चन्द्रमा देवताको गुरु भएकाले माथि भएको विश्वास छ । 

लिच्छवीकालको मुद्रामा पनि यही झन्डाको प्रयोग गरेको भेटिएको यसका अध्यताहरुको भनाइ छ ।

राष्ट्रिय झन्डाबारे गहन अध्ययन गरेका दयाराम श्रेष्ठ नेपालको झन्डामा खोट लगाउने ठाउँ कतै कहिँ नभएको बताउँछन् ।

राष्ट्रिय पर्वका बेला राष्ट्रिय झन्डा घरमा सजाउन या राख्न पाइन्छ । तर पछिल्लो समय यसको दुरुपयोग भएको छ ।

आचारसंहितामा नेपालको झन्डा राति फहराउन पाइँदैन तर नेपालका बुद्धिजिवीहरुले नै यसको कार्यान्वयन नगरेको अध्यता श्रेष्ठ बताउँछन् ।

वडादसैंको अष्टमी र चैते दसैं गरी वर्षमा दुईपटक झन्डा फेर्नुपर्ने नियम छ । तर त्यो पनि कसैले कार्यान्वयन नगरेको उनको गुनासो छ ।

यती मात्र हैन बजारमा जथाभावी साइजको झन्डा बेच्ने गरेको पाइन्छ । विदेशीले राष्ट्रिय झन्डा किनेर लैजानेसमेत गरेका छन् । तर यो गर्न पाइँदैन । यसले पनि झन्डाको दुरुपयोग भइरहेको प्रष्ट हुन्छ ।

राजनीतिक दलहरुले पनि राष्ट्रिय झन्डाको दुरुपयोग गर्ने गरेका छन् । राजनीतिक कार्यक्रममा यसको प्रयोग गर्ने क्रम बढेको छ ।

सरकारी कार्यालयहरुमै पनि च्यातिएको राष्ट्रिय झन्डा राखेको देखिन्छ ।

यसले झन्डाको अपमान गरेको जस्तो देखिने गरेको छ । केही महिनाअघि मात्रै काठमाडौंको माइतीघर मण्डलामा सबैभन्दा ठूलो आकारको राष्ट्रिय झन्डा फहराइएको छ ।

भनिन्छ यो झुके राष्ट्रको शान झुक्छ, ऊँचो भए राष्ट्रको शीर उच्च हुन्छ । त्यसैले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न नहुनेतर्फ सबैलाई चेतना हुनु आवश्यक छ ।