
-बासुदेव बर्मा/ईमेज:
कपिलबस्तु । पश्चिम नेपालको एकमात्र बालगृहका रुपमा रहेको कपिलबस्तु बालगृहमा समेत दशैंको रौनकता छाएको छ ।
बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् ।
दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे ।
शुक्रबार बडादशैंको शुभसाइतमा सदरमुकाम स्थित बालगृहमा रहेका १८ अनाथ बालकहरुलाई टिका लगाइदिन जनप्रतिनिधीको समेत उपस्थिती रह्यो ।
मुस्लिम धर्मावलम्बीका जनप्रतिनिधी जिल्लाको शुद्धोधन गाउपालिकाका अध्यक्ष निशार अहमद खांले उक्त असहाय बालकलाई हिन्दु परम्परा अनुसार टिकाप्रसाद अर्पण गरे ।
अनाथ, असहाय बालबच्चालाई देख्दा आफ्नो मनै भावबिह्वल हुने बताउदै अध्यक्ष खां भन्छन्, “उनीहरुलाई हामीले साथ र सहयोग गर्नुपर्छ, उनीहरुपनि आफ्नै बालबच्चा जस्तै हुन्” ।
आफन्त गुमाएका र घर भन्दा टाढा बस्दै आएका बालमन्दिरका वालवालिकाहरु मान्यजनबाट टिका थाप्न पाएकोमा अभिभावकको अभाव भुलेको उनीहरुको भनाई थियो ।
नेपाल बाल संगठन कपिलबस्तु शाखाको अगुवाईमा बालमन्दिरका बालकहरुका लागि दशैको टिकाको व्यवस्था गरिएको थियो ।
वालगृह परिसरमा आयोजित कार्यक्रममा शुद्धोधन गाउपालिकाका अध्यक्ष निशार अहमद खां, मधेस मानव अधिकार गृहका रबि ठाकुर, संगठनका सन्तराम अग्रहरी, जेष्ठ नागरिक बनारसी बर्मा लगायतले दशैँको शुभकामना ब्यक्त गर्दै सांस्कृतिक पर्व दशैलाई जीवन्त राख्न संगठनले सहयोग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्