
काठमाडौं, कात्तिक १ । विजयादशमीको बिदाको समयमा काठमाडौं उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्यरुपमा मिटरमा सन्चालन गर्न सरकारले निर्देशन दिएको छ ।
दसैंका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारबाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सन्चालन नगर्ने ट्याक्सीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ‘हेलो सरकार’कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
त्यसैगरी, उक्त बैठकले काठमाडौं उपत्यकामा पहिचान भएका ६६ ओटा ‘रुट’मा निर्धारित् बिसौनीमामात्र यात्रीलाई चढाउन, ओराल्न तथा फोहरको समुचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
देशभर कुनैपनि किसिमका गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको जानकारी दिँदै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सवारी नियमविपरीत वाहन सन्चालन गर्ने ३८६ जनालाई कारबाही गरेको जनाएको छ ।
यसैबीच, ट्राफिक प्रहरीले यात्रीको सामान लिएर भागेको एउटा ट्याक्सी चालकलाई बिहीबार नियन्त्रणमा लिएर सम्बन्धित यात्रीको सामान सुरक्षितरुपमा फिर्ता गराएको बताएको छ । रासस
प्रतिक्रिया दिनुहोस्