
कन्चनपुर, असोज ३१ । कन्चनपुर, शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनिमा मंगलबार राति दुई दर्जनभन्दा बढीको संख्यामा आएको हात्तीको झुन्डले ६ जना किसानको एक विगाहभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुन्डले ‘थ्रेसिङ’ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो ।
इलाका प्रहरी कार्यालय झलारीकाअनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापति जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैनसिंह पालको धानबाली हात्तीको झुन्डले खाएको छ ।
‘किसानको दुई कट्ठादेखि पाँच कट्ठासम्मको धान खाएर हात्तीले नोक्सान गरेको छ’–इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने–‘आँगनमै राखेको धानबाली हात्तीको झुन्डले खान थालेपछि किसान मर्कामा परेका छन् ।’
साँझ नपर्दै हात्तीको झुन्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछिमात्रै निकुञ्जतर्फ लाग्ने गरेको छ ।
तीन सातादेखि भारतको दुधुवा नेसनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुन्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेको छ ।
‘भगाउन गएपछि पूरै झुन्ड आक्रमण गर्न आउँछ’–स्थानीय किसान मनिलाल जोशीले भने–‘आगो र पटाका पड्काएर पनि तर्सन छाडेका छन् । धानबाली सकिएपछि घरभित्र भन्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेको छ ।’
मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना बढेर गएको हुँदा हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको माग छ ।
हात्तीको झुन्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।
धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्