
काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई दिएका छन् ।
उनले मन्त्रीको संख्यासमेत कटौती गरेर महिलालाई प्राथमिकताका साथ आधा हिस्सा उपलब्ध गराएका हुन् ।
महिलाहरु कम भ्रष्ट हुने र देशमा शान्ति र स्थिरता ल्याउन सहयोग पुग्ने विश्वासका साथ उनले मन्त्रिपरिषद्को आधा सदस्य महिला नियुक्त गरेका हुन् ।
२० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको छ ।
नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयका साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी पनि महिलालाई दिइएको छ ।
शान्ति, व्यापार तथा उद्योग र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालय महिलालाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् ।
राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् ।
संसदमा पूर्व सभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँच जना मात्र महिला थिए ।
गत अप्रिलमा कार्यभार सम्हालेयता ४२ वर्षीय प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो ।
प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए ।
उनले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याएका थिए ।
प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्