
काठमाडौं, असोज ३० । काठमाडौंको हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।
मंगलबार ऐतिहासिक काठमाडौंको वसन्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारमा फूलपाती भित्र्याइएको हो ।
गोरखा दरबारदेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याएका थिए । जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले फूलपाती ल्याएका हुन् ।
जमलसम्म ल्याइएको फूलपातीलाई जमलेश्वर महादेवमा पूजा गरी सांस्कृतिक बाजागाजाका साथ कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै हुनमानढोका दरबारमा भित्र्याइएको हो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरु जमलमा पुगेर हुनमानढोकाको नासलचोकमा फूलपाती भित्र्याइएको थियो ।
नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मूलचोकमा तान्त्रिक विधिबाट बोका बलि दिइ हनुमानढोकाको दसैंघरमा फूलपाती भित्र्याइएको हो ।
फूलपातीमा उखु, अदुवा, केराको बोट, पैयूँ, जयन्ती फूललगायत रहेको हुन्छ ।
दुर्गाभवानीको प्रतीक फूलपाती नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि आ–आफ्नो गणमा भित्र्याइ कोटमा निशान छापसहित मौलापूजा गरेका छन् ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोरखा दरबारबाट हुनमानढोका दरबारमा फूलपाती भित्र्याउन थालिएपछि यो परम्परा हालसम्म कायम रहेको छ ।
राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउनेक्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्