
उलानबटोर, असोज ३० । उत्तर कोरियाली नेता किम जोङ उनलाई मंगोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मंगोलियाका एक उच्च अधिकारीले बताएका छन् ।
मंगोलियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो ।
दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । दोस्रो शिखर बैठकको स्थान र मिति अझै तय भइसकेको छैन ।
मंगोलियाली राष्ट्रपति खल्टमा बाटुल्गाको कार्यालयकाअनुसार किमलाई गत अक्टोबर १० मा निमन्त्रणा पठाइएको छ । तर, निमन्त्रणापत्रमा भ्रमणको मिति खुलाइएको छैन ।
‘उत्तर कोरियाली नेताले आफूलाई अनुकूल हुने समयमा भ्रमण गर्न सक्नुहुनेछ’–राष्ट्रपति कार्यालयका अधिकारीले बताएका छन् ।
मंगोलियाले यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच पहिलो शिखर बैठकका लागि प्रस्ताव गरेको थियो । तर, दुवै नेताले सिंगापुरमा बैठक गर्ने सहमति जनाएका थिए ।
राष्ट्रपति ट्रम्पले गत साता तीन वा चारओटा स्थान पहिचान गरिएको बताएका थिए ।
किमले सन् २०११ मा सत्ताको बागडोर सम्हालेयता यसै वर्ष चीनको तीनपटक भ्रमण गरेका छन् ।
चीन र रसियाबीचमा रहेको प्रजातान्त्रिक मुलुक मंगोलियाको उत्तर कोरियासँगको सम्बन्ध निकै प्रगाढ रहेको छ । यसै वर्ष दुई मुलुकले दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ मनाएका छन् ।
किमका हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक किम इल सुङले सन् १९८८ मा मंगोलियाको भ्रमण गरेका थिए ।
अक्टोबर २०१३ मा मंगोलियाका तत्कालीन राष्ट्रपति चाखिया एल्बेगदोर्जले प्योङयाङको भ्रमण गरेका थिए ।
करिब एक हजार २०० उत्तर कोरियालीहरु गत वर्षको अन्त्यसम्म मंगोलियामा कार्यरत् रहेका थिए ।
तर, संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएपश्चात उनीहरु प्योङयाङ फर्केको विश्वास गरिन्छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्